केनको कीर्तिमानसँगै क्रोएसियामाथि इङ्गल्यान्डको रोमाञ्चक जित

काठमाडौँ। कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको समूह ‘एल’ को खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्यो।
इङ्गल्यान्डका लागि कप्तान केनले दुई गोल गरे भने जुड बेलिङ्घम र वैकल्पिक खेलाडी मार्कस रासफोर्डले एक–एक गोल थपे। क्रोएसियाका तर्फबाट मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको १२औँ मिनेटमा इङ्गल्यान्डले पेनाल्टीमार्फत अग्रता लियो। लुका मोड्रिचले पेनाल्टी क्षेत्रभित्र नोनी माडुएकेमाथि फाउल गरेपछि इङ्गल्यान्डले पेनाल्टी पाएको थियो। केनको पहिलो प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि भिडियो सहायक रेफ्रीको समीक्षा पछि गोलरक्षक समयअघि लाइनबाट अघि बढेको ठहर गर्दै पेनाल्टी दोहोर्याउन लगाइयो। दोस्रो प्रयासमा केनले गोल गर्दै इङ्गल्यान्डलाई १–० को अग्रता दिलाए।
क्रोएसियाले ३६औँ मिनेटमा खेल बराबरीमा ल्यायो। मार्टिन बातुरिनाले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै स्कोर १–१ बनाए। तर त्यसको केही समयपछि नै केनले डेक्लान राइसको कर्नरमा हेडमार्फत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई पुनः अग्रता दिलाए। यस गोलसँगै केनले विश्वकपमा इङ्गल्यान्डका लागि आफ्नो गोल संख्या १० पुर्याउँदै ग्यारी लिनेकरको कीर्तिमान बराबरी गरे।
पहिलो हाफको इन्जुरी समयमा पेटार मुसाले गोल गर्दै क्रोएसियालाई फेरि खेलमा फर्काए। पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई ३–२ ले अघि बढाए। त्यसपछि इङ्गल्यान्डले खेलको गति नियन्त्रणमा राख्दै थप अवसर सिर्जना गर्यो। खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गर्दै इङ्गल्यान्डको ४–२ को जित सुनिश्चित गरे।
थोमस टुकलको प्रशिक्षणमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि यो नतिजा आत्मविश्वास बढाउने सुरुवात बनेको छ। क्रोएसियाले दुई पटक बराबरीमा फर्किए पनि दोस्रो हाफमा इङ्गल्यान्डको आक्रमण रोक्न सकेन। जितसँगै इङ्गल्यान्डले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ भने क्रोएसियालाई आगामी खेलमा पुनरागमनको दबाब बढेको छ।





