४ असार २०८३, बिहीबार

नेपाल–चीन सम्बन्ध विस्तारमा परराष्ट्रमन्त्री खनालको भ्रमण फलदायी

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी जुन १४ देखि १७ सम्म चीन भ्रमणमा गएका थिए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच जुन १५ मा बेइजिङमा द्विपक्षीय वार्ता भएको थियो। वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्ष, राजनीतिक विश्वास, आर्थिक सहकार्य, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल तथा पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषणलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपालको अडान दोहोर्‍याउँदै नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनको समर्थन दोहोर्‍याउँदै सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारका प्राथमिकताप्रति समर्थन रहने विश्वास व्यक्त गरेको थियो।

चिनियाँ विदेश मन्त्रालयको विवरणअनुसार विदेशमन्त्री वाङ यीले नेपाल–चीन सम्बन्धलाई छिमेकी कूटनीतिको महत्वपूर्ण अंशका रूपमा व्याख्या गर्दै दुई देशबीचको परम्परागत मित्रता, राजनीतिक विश्वास र रणनीतिक सहकार्यलाई समयअनुकूल अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले चीनले नेपालसँग उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य अघि बढाउन चाहेको र विद्युत् ग्रिड, सडक, नाका तथा उड्डयन क्षेत्रमा सहकार्य केन्द्रित गर्न सकिने धारणा राखेका थिए।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि वाङ यी–खनाल वार्तामा नेपाललाई स्थलरुद्ध अवस्थाबाट स्थल–सम्बद्ध मुलुकका रूपमा अघि बढाउन कनेक्टिभिटी सहयोगलाई महत्त्व दिइएको उल्लेख गरेको छ। चिनियाँ पक्षले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा व्यवसायमैत्री वातावरण उपलब्ध गराउने अपेक्षा गरेको जनाएको छ।

वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल–चीन मित्रता ऐतिहासिक र बहुआयामिक रहेको उल्लेख गर्दै चीनले नेपालको विकास र जनजीवन सुधारमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले नेपाल नयाँ सरकारको प्राथमिकता सुशासन, आर्थिक विकास र जनकेन्द्रित समृद्धि रहेको बताउँदै चिनियाँ लगानी, प्रविधि र अनुभवबाट नेपालले लाभ लिन चाहेको बताएका थिए।

भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, द्विपक्षीय सहयोग विस्तार तथा दलहरूबीच सम्पर्क र सहकार्यको सम्भावनाबारे छलफल भएको थियो।

त्यसैगरी, जुन १६ मा परराष्ट्रमन्त्री खनालले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल र चीनबीचको सुमधुर, मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने र प्राथमिकताका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

सोही दिन बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको लगानी सम्मेलनमा परराष्ट्रमन्त्री खनाल सहभागी भए। कार्यक्रममा चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्तासँग भेटघाट तथा अन्तरक्रिया भएको थियो। नेपाल लगानी बोर्डका प्रतिनिधिले “नेपालमा लगानी: अवसर, प्रोत्साहन र साझेदारीका सम्भावना” विषयमा प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गरी आपसी आर्थिक वृद्धि र हिमालयपार समृद्धिको नयाँ अध्याय निर्माणमा सहभागी हुन आग्रह गरे। उनले नेपालमा उपलब्ध आर्थिक सम्भावना, युवा जनसंख्या, बजार पहुँच र व्यवसायमैत्री वातावरण निर्माणप्रति सरकारको प्रतिबद्धताबारे जानकारी गराए।

भ्रमणको क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गरे। उनले सुशासन, आर्थिक विकास र समृद्धिलाई संस्थागत गर्ने सरकारको प्राथमिकताबारे जानकारी दिँदै राष्ट्र निर्माणमा सक्रिय योगदान गर्न नेपाली समुदायलाई आग्रह गरे।

खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको पनि अवलोकन गरे। नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदालाई नेपाल–चीन सांस्कृतिक सम्बन्ध, नेपाली कला र ऐतिहासिक जनस्तरीय सम्बन्धको प्रतीकका रूपमा लिइन्छ।

भ्रमणका क्रममा उनले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थानको पनि भ्रमण गरी त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थाहरूसँग भइरहेको सहकार्यबारे जानकारी लिएका थिए। साथै, चीनको उच्च प्रविधि तथा राष्ट्रिय नवप्रवर्तन प्रदर्शन क्षेत्रका रूपमा परिचित झोङगुआनछुन साइन्स पार्कको अवलोकन पनि गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–चीन बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्ने, विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको कार्यान्वयनलाई गति दिने र आर्थिक तथा विकास कूटनीतिलाई अघि बढाउने दिशामा योगदान पुर्‍याएको छ। दुवै पक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button