झलनाथ खनालको ३६ बुँदे पत्रमा माधव नेपालमाथि गम्भीर आरोप

काठमाडौँ। नेकपाका नेता झलनाथ खनालले पार्टीका सहसंयोजक माधव नेपालमाथि गम्भीर आरोप लगाएका छन्। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको ३६ बुँदे असन्तुष्टि पत्रमा खनालले पार्टीभित्र कार्यविभाजन, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, सैद्धान्तिक लाइन र पार्टी एकतासम्बन्धी विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
खनालले आफूलाई पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख बन्न नदिन सहसंयोजक नेपाल सक्रिय भएको आरोप लगाएका छन्। उनले कार्यविभाजनका क्रममा आफूले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी लिन सकिने प्रस्ताव गरे पनि त्यसविरुद्ध भित्रभित्रै लबिइङ भएको दाबी गरेका छन्।
पत्रमा खनालले आफूले कुनै गुट बैठक, लबिइङ वा चाकडी नगरेको उल्लेख गर्दै माधव नेपालले आफ्नो नाम रोक्न दबाब दिएको आरोप लगाएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय विभागमा आफूले भनेको मान्ने व्यक्ति राखेर विभिन्न देश भ्रमण गर्ने स्वार्थ नेपालमा रहेको उनको दाबी छ।
खनालले प्रचण्डलाई सम्बोधन गर्दै बैठकका क्रममा विभागीय जिम्मेवारी घोषणा हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको टुंगो पछि लगाउने भनिएको प्रसंग पनि पत्रमा उठाएका छन्। उनले त्यसलाई सहसंयोजक नेपालको दबाबका कारण पार्टी नेतृत्व अनिर्णयमा परेको संकेतका रूपमा व्याख्या गरेका छन्।
पत्रमा खनालले माधव नेपालका निकट व्यक्तिहरूले समेत प्रचण्डमाथि दबाब दिइरहेको दाबी गरेका छन्। उनले अन्तर्राष्ट्रिय विभागको विषयमा भएको दबाबलाई स्वार्थपूर्ण, संकीर्ण र पूर्वाग्रहपूर्ण भनेका छन्।
खनालले तत्कालीन नेकपा एकीकृत समाजवादीभित्र चलेको सैद्धान्तिक बहसलाई पनि पत्रमा स्मरण गरेका छन्। उनले वैज्ञानिक समाजवाद र बहुदलीय जनवादबीच निरन्तर संघर्ष भएको उल्लेख गर्दै बहुदलीय जनवादलाई कम्युनिस्ट आन्दोलनका लागि वैचारिक–सैद्धान्तिक समस्या भएको टिप्पणी गरेका छन्।
उनले माधव नेपालको नेतृत्वमा पार्टीभित्र द्विविधा, अस्पष्टता, निराशा, निष्क्रियता र कार्यकर्ता पलायन बढेको आरोप पनि लगाएका छन्। खनालका अनुसार पार्टीको समग्र समीक्षा गर्न नेपाल तयार नभएको र समीक्षा गर्दा उनको नेतृत्व कमजोर देखिने अवस्था रहेको थियो।
पत्रमा खनालले पार्टी सञ्चालन कठिन हुँदै केन्द्रीय कार्यालयको भाडा तिर्नसमेत समस्या देखिन थालेपछि एकताको प्रक्रियामा जानुपरेको आरोप लगाएका छन्। उनले एकता वास्तविक वैचारिक निष्कर्षभन्दा पनि बाध्यात्मक अवस्थाको परिणाम भएको दाबी गरेका छन्।
खनालको पत्र सार्वजनिक भएसँगै नेकपाभित्र नेतृत्व व्यवस्थापन, विभागीय जिम्मेवारी, सैद्धान्तिक दिशा र पार्टी एकताको पृष्ठभूमिबारे नयाँ बहस सुरु भएको छ। यद्यपि, खनालले लगाएका आरोपबारे माधव नेपाल वा पार्टी नेतृत्वबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।





