४ असार २०८३, बिहीबार

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै २८ दिन अवधिका लागि उक्त रकम बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको जनाएको छ।

सूचनाअनुसार बोलकबोल प्रक्रिया अनलाइन प्रणालीमार्फत हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलको ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण हुनेछ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँबाट सहभागिता जनाउन सकिनेछ। त्यसपछि पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरण राष्ट्र बैंकले बजारमा अधिक तरलता देखिएका बेला बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम तान्न प्रयोग गर्ने मौद्रिक उपकरण हो। यसमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम अस्थायी रूपमा राष्ट्र बैंकमा जम्मा गराइन्छ।

राष्ट्र बैंकले तरलता सन्तुलन, ब्याजदर व्यवस्थापन र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button