सिक्टाको नियमित सिँचाइले बाँकेका किसानलाई राहत

बाँके। निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसानलाई धानको बीउ राख्न र खेती प्रणाली व्यवस्थित गर्न सहज भएको छ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजनाले मर्मतसम्भारको समयबाहेक किसानको मागअनुसार बाह्रै महिना नहरमा पानी छोड्दै आएको छ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानको आवश्यकतालाई प्राथमिकतामा राखेर नहरमा नियमित पानी उपलब्ध गराइँदै आएको हो। उनले नियमित सिँचाइ सुविधाले किसानलाई धान र गहुँ खेतीका साथै बेमौसमी तरकारी खेतीतर्फ पनि आकर्षित गरेको बताए।
आयोजनाले बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म करिब २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ।
विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले सिँचाइ सुविधा पुगेपछि समयमै धानको बीउ राख्न पाएका छन्। यस वर्ष पर्याप्त वर्षा नभए पनि सिक्टाको पानी पुगेका क्षेत्रमा किसानले धानको बीउ हुर्काइसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले राप्तीसोनारीका वडा नं. ६ र ७ अन्तर्गत फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेको बताए। उनले सिक्टा सिँचाइ आयोजनाले किसानलाई ठूलो राहत दिएको उल्लेख गरे।
सिँचाइ सुविधा पुगेको क्षेत्रमा किसानले सहज रूपमा ब्याड राखे पनि सिक्टाको पानी नपुगेका स्थानमा भने वैकल्पिक उपाय अपनाइएको छ। कतिपय किसानले घरायसी प्रयोजनका मोटर तथा केही स्थानमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि धानको बीउ राखेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा सिँचाइ सुविधा पुगेका र वैकल्पिक उपाय अपनाएका क्षेत्रसमेत गरी हालसम्म करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखेका छन्। बाँकेमा कुल ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ।
नियमित सिँचाइ उपलब्ध हुँदा किसानले खेतीको समयतालिका मिलाउन, उत्पादन बढाउन र व्यावसायिक कृषि विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।





