चीन–म्यान्मार साझा भविष्य समुदाय निर्माण तीव्र बनाउने सहमति

बेइजिङ। चीन र म्यान्मारले चीन–म्यान्मार साझा भविष्य समुदाय निर्माणलाई तीव्र बनाउने विषयमा संयुक्त वक्तव्य जारी गरेका छन्। म्यान्मारका राष्ट्रपति यू मिन आङ हलाइङले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा जुन १५ देखि १९ सम्म चीनको राजकीय भ्रमण गरेपछि बुधबार संयुक्त वक्तव्य सार्वजनिक गरिएको हो।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र म्यान्मारका राष्ट्रपति यू मिन आङ हलाइङबीच भेटवार्ता भएको थियो। भेटमा चीन–म्यान्मार “पौक–फौ” मित्रता सुदृढ गर्ने, व्यापक रणनीतिक सहकार्य अघि बढाउने र साझा भविष्य समुदाय निर्माणलाई गहिरो बनाउने विषयमा गहन छलफल भएको संयुक्त वक्तव्यमा उल्लेख छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङ र राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि म्यान्मारका राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट गरेका थिए।
दुवै पक्षले कूटनीतिक सम्बन्ध स्थापना भएको ७६ वर्षयता चीन र म्यान्मार असल छिमेकी, असल मित्र र असल साझेदारका रूपमा रहँदै आएको उल्लेख गरेका छन्। उनीहरूले समानता, आपसी सम्मान, परामर्श र साझा लाभका आधारमा राजनीतिक विश्वास, व्यावहारिक सहयोग र जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्ने सहमति गरेका छन्।
वक्तव्यमा दुवै देशले एक–अर्काका मूल हित र प्रमुख चासोका विषयमा दृढ समर्थन दोहोर्याएका छन्। चीनले म्यान्मारमा आमनिर्वाचनको स्वागत गर्दै देशमा दिगो शान्ति, स्थिरता र विकास अघि बढाउने म्यान्मारको प्रयासलाई समर्थन गर्ने जनाएको छ। चीनले म्यान्मारको सार्वभौमिकता, सुरक्षा, भौगोलिक अखण्डता, राष्ट्रिय मर्यादा, राष्ट्रिय मेलमिलाप र दीर्घकालीन शान्तिप्रति समर्थन व्यक्त गरेको छ।
म्यान्मारले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै ताइवान चीनको अभिन्न अङ्ग भएको र जनवादी गणतन्त्र चीनको सरकार नै सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैध सरकार भएको जनाएको छ। म्यान्मारले “ताइवान स्वतन्त्रता”को कुनै पनि रूपको विरोध गर्ने, ताइवानसँग कुनै औपचारिक सम्पर्क नगर्ने र चीनको राष्ट्रिय एकीकरण प्रयासलाई समर्थन गर्ने उल्लेख गरेको छ। म्यान्मारले हङकङ, सिन्च्याङ र सिचाङसम्बन्धी विषयलाई चीनको आन्तरिक मामिला मानेको छ।
दुवै देशले आफ्नो भूभाग अर्को पक्षको सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
म्यान्मारले राष्ट्रपति सी चिनफिङले अघि सारेका मानव जातिका लागि साझा भविष्य समुदाय, विश्व विकास पहल, विश्व सुरक्षा पहल, विश्व सभ्यता पहल र विश्व शासन पहलको प्रशंसा गरेको छ। दुवै पक्षले यी पहलको कार्यान्वयनमा सहकार्य गर्दै विश्व शान्ति, स्थिरता, विकास र समृद्धिमा योगदान पुर्याउने सहमति गरेका छन्।
आर्थिक तथा पूर्वाधार सहकार्यतर्फ दुवै देशले बेल्ट एन्ड रोड सहकार्य योजनालाई समयमै अन्तिम रूप दिएर हस्ताक्षर गर्ने तयारी व्यक्त गरेका छन्। चीन–म्यान्मार आर्थिक करिडोर कार्यान्वयन, क्याउकफ्यु गहिरो समुद्री बन्दरगाह, मुसे–माण्डले रेलवे, चीन–म्यान्मार तेल तथा ग्यास पाइपलाइन, विद्युत् ग्रिड अन्तरसम्बन्ध र ऊर्जा साझेदारीलाई अघि बढाउने सहमति भएको छ। यी परियोजनाहरू आपसी सम्मान, पारस्परिक लाभ, व्यापारिक व्यवहार्यता, वित्तीय दिगोपन र दुवै देशका कानुन तथा राष्ट्रिय अवस्थासँग मिलाएर अघि बढाइने संयुक्त वक्तव्यमा उल्लेख छ।
दुवै देशले खानी, डिजिटल अर्थतन्त्र, कृत्रिम बौद्धिकता, कृषि, वन, पशुपालन, भन्सार सहजीकरण, शिक्षा, सांस्कृतिक पर्यटन, स्वास्थ्य, युवा, सञ्चारमाध्यम र मानव संसाधन विकासमा सहयोग विस्तार गर्ने सहमति गरेका छन्। द्विपक्षीय व्यापार बढ्दै गएको स्वीकार गर्दै दुवै पक्षले चिनियाँ युआन र म्यान्मार क्यातबीच प्रत्यक्ष भुक्तानी संयन्त्र सञ्चालनमार्फत व्यापार सहजीकरण गर्ने बताएका छन्।
चीनले म्यान्मारको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। याङ्गुनस्थित आङसान रंगशालाजस्ता प्रतीकात्मक परियोजनाको पुनर्निर्माण, विपद् रोकथाम तथा न्यूनीकरण, स्वास्थ्य सेवा, मानव संसाधन विकास र “सानो तर सुन्दर” जनजीविका परियोजनामा सहकार्य अघि बढाउने सहमति भएको छ। म्यान्मारले राहत, पुनर्स्थापना र पुनर्निर्माणमा चीनको सहयोगप्रति आभार व्यक्त गरेको छ।
सुरक्षा क्षेत्रमा दुवै देशले विश्व सुरक्षा पहल कार्यान्वयनका उपाय खोज्ने, साझा, व्यापक, सहकारी र दिगो सुरक्षाको अवधारणा अघि बढाउने तथा चीन–म्यान्मार सुरक्षा साझेदारी निर्माण गर्ने सहमति गरेका छन्। दुवै पक्षले टेलिकम साइबर ठगीविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन स्थापना समर्थन गर्दै अनलाइन जुवा, टेलिकम ठगी, मानव तस्करी, अवैध सीमा पार, लागूऔषध उत्पादन तथा ओसारपसार, नक्कली सामान, तस्करी र वित्तीय ठगीविरुद्ध द्विपक्षीय तथा बहुपक्षीय कानुन कार्यान्वयन सहकार्य बलियो बनाउने जनाएका छन्।
म्यान्मारले आफ्नो देशमा रहेका चिनियाँ परियोजनाको सुरक्षा गर्ने प्रतिबद्धता दोहोर्याएको छ। चीनले म्यान्मारको आन्तरिक शान्ति र मेलमिलाप प्रक्रिया राजनीतिक संवादमार्फत अघि बढाउने प्रयासलाई समर्थन गर्ने जनाएको छ। म्यान्मारले विशेषगरी उत्तरी म्यान्मारमा शान्ति वार्ता सहजीकरणमा चीनको सकारात्मक र रचनात्मक भूमिकाको प्रशंसा गरेको छ।
अन्तर्राष्ट्रिय मामिलामा दुवै पक्षले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्था र संयुक्त राष्ट्रसंघीय बडापत्रका उद्देश्य तथा सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई समर्थन गर्ने जनाएका छन्। दुवै देशले बहुध्रुवीय विश्व, समावेशी आर्थिक विश्वव्यापीकरण, वास्तविक बहुपक्षवाद र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतन्त्रीकरणलाई समर्थन गरेका छन्।
दुवै पक्षले एकपक्षवाद, संरक्षणवाद, सैन्यीकरण, गुटगत टकराव र क्षेत्रीय शान्ति तथा स्थिरतालाई कमजोर पार्ने गतिविधिको विरोध गरेका छन्। म्यान्मारले विश्व कृत्रिम बौद्धिकता सहकार्य संगठन स्थापना गर्ने चीनको पहलको स्वागत गरेको छ भने चीनले म्यान्मारले उक्त संस्थामा सहभागी हुने विषयमा सकारात्मक विचार गरिरहेकोप्रति स्वागत जनाएको छ।
क्षेत्रीय सहकार्यतर्फ चीन र म्यान्मारले चीन–आसियान सहकार्यलाई सुदृढ गर्ने, शान्त, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण क्षेत्र निर्माण गर्ने तथा लान्छाङ–मेकङ सहकार्यलाई स्तरोन्नति गर्ने सहमति गरेका छन्। दुवै देशले संयुक्त राष्ट्रसंघ, शाङ्घाई सहयोग संगठन, आसियान, बिम्स्टेक र एसीएमईसीएसलगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य बलियो बनाउने जनाएका छन्। चीनले म्यान्मारको आसियान संयन्त्र र संयुक्त राष्ट्रसंघमा पूर्ण, समान र रचनात्मक सहभागितालाई समर्थन गरेको छ।
भ्रमणका क्रममा यातायात, विज्ञान तथा प्रविधि, बौद्धिक सम्पत्ति अधिकार, मानव संसाधन विकास, सार्वजनिक स्वास्थ्य र सञ्चारमाध्यमसम्बन्धी विभिन्न सहकार्य दस्तावेजमा हस्ताक्षर भएको छ।
राष्ट्रपति यू मिन आङ हलाइङले राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनताले देखाएको न्यानो स्वागत र आतिथ्यप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रपति सीलाई अनुकूल समयमा म्यान्मार भ्रमण गर्न निमन्त्रणा दिएका छन्।





