४ असार २०८३, बिहीबार

फिलिपिन्स भूकम्पमा मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३० जना अझै बेपत्ता

मनिला । फिलिपिन्सको दक्षिणी सारांगानी प्रान्तनजिक जुन ८ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने ३० जना अझै बेपत्ता छन् ।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) का अनुसार भूकम्पबाट ३ लाख ५७ हजारभन्दा बढी परिवार, अर्थात् करिब १५ लाख मानिस प्रभावित भएका छन् । प्रभावितमध्ये करिब ५ हजार ५ सय परिवारका झन्डै २२ हजार व्यक्ति ४७ वटा अस्थायी उद्धार तथा आश्रय केन्द्रमा बसिरहेका छन् ।

भूकम्पका कारण करिब ७४ हजार ७ सय घरमा क्षति पुगेको छ । तीमध्ये १३ हजार ७ सय घर पूर्ण रूपमा क्षतिग्रस्त घोषित गरिएको छ । त्यस्तै, ७७४ वटा पूर्वाधार संरचनामा क्षति पुगेको छ, जसबाट करिब १ अर्ब २९ करोड पेसो, अर्थात् करिब २ करोड १३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । कृषि क्षेत्रमा करिब २ करोड ९८ लाख पेसो बराबरको क्षति भएको परिषद्ले जनाएको छ ।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार उक्त टेक्टोनिक भूकम्प जुन ८ का दिन स्थानीय समयअनुसार बिहान ७ बजेर ३७ मिनेटमा गएको थियो । ३३ किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु मिन्दानाओ टापुको सारांगानी प्रान्तस्थित मासिम नगरको तटीय क्षेत्रबाट करिब ३२ किलोमिटर दक्षिण–दक्षिणपश्चिममा रहेको थियो ।

प्रशान्त महासागरीय “रिङ अफ फायर” क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्समा बारम्बार भूकम्पीय गतिविधि हुने गर्छ । यो क्षेत्र प्रमुख टेक्टोनिक प्लेटहरूको सिमानामा पर्ने भएकाले भूकम्प र ज्वालामुखी विस्फोटको जोखिम उच्च मानिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button