५ असार २०८३, शुक्रबार

पूर्वाधारमै केन्द्रित काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासलाई सबैभन्दा उच्च प्राथमिकतामा राखिएको छ।

महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमार्फत २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको छ। त्यसबाहेक बाह्य व्ययभारतर्फ ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षमा महानगरको सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। त्यसमध्ये आन्तरिक राजस्व र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत जुट्ने प्रक्षेपण गरिएको छ।

नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान तथा राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने महानगरको अनुमान छ।

क्षेत्रगत विनियोजनअनुसार पूर्वाधार विकासमा कुल बजेटको सबैभन्दा ठूलो हिस्सा छुट्याइएको छ। यस क्षेत्रमा १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ।

सामाजिक विकासतर्फ २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ९.६ प्रतिशत हो। सुशासन तथा अन्तरसम्बन्धित कार्यक्रमका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ अर्थात् ८.५ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको १८.८ प्रतिशत हो। आर्थिक विकास क्षेत्रका लागि भने ५४ करोड १८ लाख २० हजार रुपैयाँ मात्र छुट्याइएको छ, जुन कुल बजेटको २.१ प्रतिशत हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो। आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब ७७ करोड रुपैयाँ बढी हो।

बजेट संरचनाले महानगरले आगामी वर्ष सडक, सार्वजनिक पूर्वाधार, सहरी व्यवस्थापन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको देखाउँछ। तर आर्थिक विकास क्षेत्रमा न्यून विनियोजन भएकाले रोजगारी, उद्यमशीलता र उत्पादनमुखी कार्यक्रमतर्फ महानगरको लगानी सीमित रहने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button