५ असार २०८३, शुक्रबार

नक्कली मेडिकल रिपोर्ट दिएको आरोपमा नेपालगञ्जबाट पाँच जना पक्राउ

नेपालगञ्ज — सवारी चालक अनुमतिपत्रसम्बन्धी मेडिकल परीक्षणमा अनियमितता गरेको आरोपमा प्रहरीले नेपालगञ्जबाट दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न आवश्यक पर्ने स्वास्थ्य परीक्षण प्रक्रिया उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

नियमअनुसार सवारी चालक अनुमतिपत्रका लागि अधिकृत स्वास्थ्यकर्मी वा चिकित्सकमार्फत मेडिकल परीक्षण गरी चिकित्सकीय प्रतिवेदन उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर पक्राउ परेका व्यक्तिहरूले प्रतिव्यक्ति २०० रुपैयाँ लिएर नियमित स्वास्थ्य परीक्षणबिना निरोगिताको प्रमाणपत्र वितरण गरेको प्रहरीको दाबी छ।

प्रहरीले रकम लिएर मेडिकल परीक्षणबिना प्रमाणपत्र वितरण भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरेको थियो। निगरानी र स्थलगत अवलोकनका क्रममा कैफियत देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका चिकित्सक र अन्य व्यक्तिको नाम सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानमा उनीहरूले चालक अनुमतिपत्र जारी तथा नवीकरण प्रक्रियामा आवश्यक स्वास्थ्य परीक्षणसम्बन्धी नियम उल्लंघन गरेको देखिएको प्रहरीको भनाइ छ।

सवारी चालक अनुमतिपत्रका लागि गरिने मेडिकल परीक्षण सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो। दृष्टि, शारीरिक अवस्था, स्वास्थ्य क्षमता र चालकको सामान्य फिटनेस परीक्षण नगरी निरोगिताको प्रमाणपत्र जारी गरिए दुर्घटना जोखिम बढ्न सक्ने भन्दै प्रहरीले यस्तो कार्यलाई गम्भीर रूपमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि थप अनुसन्धानमा राखिएको छ। प्रहरीले घटनामा अरू व्यक्तिको संलग्नता रहे/नरहेको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button