फोटोपत्रकार वन्तलाई कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड

काठमाडौं — राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड–२०२६’ को १८औँ संस्करणमा वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो।
संघीय सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले वन्तलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वलजंग शाहले जानकारी दिए।
ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजित अवार्ड कार्यक्रम नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थाको पहिचान र सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
अवार्डले फोटो पत्रकारिताको व्यावसायिकता, दृश्य अभिलेखीकरण र कर्पोरेट क्षेत्रमा फोटोग्राफीको भूमिकालाई थप प्रोत्साहन गर्ने आयोजकको विश्वास छ।





