५ असार २०८३, शुक्रबार

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण, १८ जनाको मृत्यु

बेरुत, — दक्षिण लेबनानका आवासीय क्षेत्रमा शुक्रबार बिहान इजरायलले गरेका शृंखलाबद्ध हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले शुक्रबार जारी गरेको वक्तव्यअनुसार निरन्तर आक्रमणका कारण उद्धार कार्य प्रभावित भएको छ। केही प्रभावित क्षेत्रमा पीडितहरूको उद्धार तथा स्थानान्तरणमा कठिनाइ भएको जनाइएको छ। मृतक र घाइतेको संख्या प्रारम्भिक भएको पनि केन्द्रले जनाएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी लेबनानको नबातियेह जिल्लाका विभिन्न आवासीय क्षेत्रमा इजरायली आक्रमण भएको हो। हरुफ, शार्कियेह र कफर सिरलगायतका सहरहरू आक्रमणको निशानामा परेका थिए। कफर रेम्मेन, कफर तेबनित तथा आसपासका क्षेत्रमा पनि थप आक्रमण हुँदा मानवीय क्षति भएको र केही व्यक्ति बेपत्ता रहेको बताइएको छ।

नबातियेह र त्यस वरपरका क्षेत्रमा पछिल्ला महिनामध्ये सबैभन्दा तीव्र बमबारी भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय समयअनुसार बिहान करिब १:३० बजेदेखि नबातियेह शहर, कफर रेम्मेन, जेबदिन, नबातियेह अल–फौका, हब्बुश, सज्द र जबल अल–रिहान क्षेत्रमा भारी तोपगोला प्रहार भएको थियो।

त्यसपछि इजरायली युद्धक विमानहरूले नबातियेह शहर, कफर तेबनित, नबातियेह अल–फौका र रिहान क्षेत्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेका थिए। कफर रेम्मेन–नबातियेह क्षेत्र, नबातियेह शहरको विश्वविद्यालय क्षेत्र र हरुफको बैदर क्षेत्रमा भएका आक्रमणमा आठ जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

शार्कियेह र दोउइरबीचको क्षेत्रमा भएको अर्को आक्रमणमा एउटा घर ध्वस्त हुँदा चार जनाको मृत्यु भएको जनाइएको छ। कफर सिरमा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ। बिहान करिब ५ बजे दोउइर नगरपालिका भवन नजिकै इजरायली ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन्।

जेबचित, अदचित, तुल, कफर तेबनित र आसपासका क्षेत्रमा पनि ड्रोन तथा हवाई आक्रमणसँगै तोपगोला प्रहार भएको जनाइएको छ।

क्षेत्रीय तनाव कम गर्ने उद्देश्यसहित हालै भएको इरान–अमेरिका समझदारी र लेबनान–इजरायल सीमामा थप तनाव रोक्न जारी कूटनीतिक प्रयासका बाबजुद यी आक्रमण भएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button