५ असार २०८३, शुक्रबार

सेबोन अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं — सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

मन्त्री तिमिल्सिनाका अनुसार बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

त्यस्तै, सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न र बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि विधेयक तर्जुमाको सिद्धान्त पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको मन्त्री तिमिल्सिनाले बताए।

बैठकले संघीय संसदमा चारवटा प्रतिस्थापन विधेयक पेश गर्नसमेत स्वीकृति दिएको छ। ती विधेयकमा सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐन संशोधनका प्रस्ताव समावेश छन्।

सरकारले यी निर्णयमार्फत सहकारी क्षेत्रको सुधार, वित्तीय अनुशासन सुदृढीकरण, सार्वजनिक खरिद प्रणालीको परिमार्जन तथा विभिन्न कानुनलाई समयानुकूल बनाउने तयारी अघि बढाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button