राहदानी विभागका महानिर्देशक अर्यालसहित चार जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं — भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित चार जनाविरुद्ध जारी अनुसन्धानका लागि दोस्रो पटक म्याद थप माग गरेपछि विशेष अदालतले पाँच दिनको अनुमति दिएको हो।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताइएको छ।
अर्याल गत असार २ गते पक्राउ परेका थिए। राहदानी खरिद तथा छपाइसम्बन्धी प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियारले उनीसहित सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ।
यसअघि राहदानी विभागका अधिकारी तथा ठेकेदारहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको बताइएको थियो। प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दबाबमा पक्राउ गरिएको दाबीसमेत बाहिरिएको छ, तर त्यसबारे आधिकारिक पुष्टि भएको छैन।
अख्तियारले राहदानी खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ।





