झापामा ट्याक्टरको ठक्करबाट बाबु–छोरीको मृत्यु

झापा — झापाको कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएकी छन्।
शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्याइएको थियो। तर चिकित्सकले दुवैलाई जाँच गर्नासाथ मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते भएकी छन्। उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





