रास्वपाको पहिलो महाधिवेशन चितवनमा, १५८ केन्द्रीय सदस्य र १८–१९ पदाधिकारी चयन हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत १५८ जना केन्द्रीय सदस्य र १८ देखि १९ जना पदाधिकारी चयन हुने भएका छन्।
पार्टी स्थापनाको चार वर्षपछि आइतबारदेखि चितवनमा सुरु हुन लागेको महाधिवेशनले २८ देखि ३० सदस्यीय सचिवालयसमेत गठन गर्ने तयारी गरेको छ।
पार्टी स्रोतका अनुसार प्रस्तावित विधानले सभापति रवि लामिछानेलाई धेरै पदमा मनोनयन गर्ने अधिकार दिने व्यवस्था गर्न लागेको छ। १५८ केन्द्रीय सदस्यमध्ये ५१ जना सभापति लामिछानेले सीधै मनोनीत गर्नेछन्। सात प्रदेशका सभापतिहरूलाई पनि केन्द्रीय सदस्यमा समेटिनेछ भने बाँकी १०० जना निर्वाचनबाट चयन हुनेछन्।
यसअघि पार्टीका १८२ जना सांसद स्वतः केन्द्रीय सदस्य बन्ने प्रस्ताव आएको थियो। तर सांसद र केन्द्रीय सदस्यको भूमिका एउटै व्यक्तिमा केन्द्रित हुँदा कार्यसम्पादनमा जटिलता आउन सक्ने भन्दै उक्त प्रस्तावमा पुनर्विचार गरिएको नेताहरूले बताएका छन्।
विधान मस्यौदा कार्यदलका सदस्य प्रदीपचन्द्र परियारका अनुसार सांसद रहेका व्यक्तिहरू पनि केन्द्रीय सदस्य वा सचिवालयमा चयन हुन सक्नेछन्। तर सबै सांसदलाई स्वतः केन्द्रीय सदस्य बनाउने व्यवस्था नराख्ने तयारी भएको उनले स्पष्ट पारे।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशनले एकताको सन्देश दिने बताए। उनका अनुसार उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ। उनले सकेसम्म सहमतिको प्रयास हुने तर कसैलाई उम्मेदवारी दिनबाट रोक्ने अवस्था नरहेको बताए।
महाधिवेशनअघि नै केही नेताहरूको पद सुरक्षितजस्तै देखिएको छ। बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा सभापति लामिछानेले सीधै मनोनीत गर्ने तयारी रहेको नेताहरू बताउँछन्। सभापति पदमा लामिछानेविरुद्ध बलियो उम्मेदवारी पर्ने सम्भावना नरहेकोले उनी निर्विरोध हुने आकलन गरिएको छ।
उपसभापतिमा डा. स्वर्णिम वाग्लेको स्थान सुरक्षित देखिएको छ। यद्यपि उनले केन्द्रीय सदस्यको निर्वाचन भने सामना गर्नुपर्नेछ। तीन उपसभापतिमध्ये एक जना सभापतिले चयन गर्ने व्यवस्था हुने बताइएको छ। त्यसमा गणेश पराजुली वा सुनिल लम्सालमध्ये एक जना रोजिन सक्ने चर्चा छ।
महिला उपसभापतिका लागि पनि धेरै आकांक्षी देखिएका छन्। सर्वसम्मतिको प्रयास सफल भए लिमा अधिकारीको सम्भावना बलियो रहेको नेताहरू बताउँछन्। समीक्षा बास्कोटा, प्रतिभा रावल, सोबिता गौतम र रञ्जु दर्शनाको नाम पनि विभिन्न पदका लागि चर्चामा छ।
महामन्त्रीमा भूपदेव शाह आउने लगभग निश्चित रहेको पार्टी स्रोतको भनाइ छ। सभापतिले चयन गर्ने महामन्त्रीमा विपिन आचार्य वा हालका प्रवक्ता मनिष झामध्ये एक जना आउन सक्ने चर्चा छ।
पाँच सहमहामन्त्रीमध्ये दुई जना सभापतिले चयन गर्ने बताइएको छ। खुलातर्फ सहमहामन्त्रीमा प्रदीपचन्द्र परियारको सम्भावना बलियो छ। अन्य पदमा तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाललगायत नेताहरूको नाम पनि चर्चामा छ।
प्रवक्ताका लागि प्रमोद न्यौपाने, दीपक बोहरा र मनिष झाको नाम चर्चामा छ। सहमति बनेको अवस्थामा मनिष झालाई कोषाध्यक्षको जिम्मेवारी दिन सकिने चर्चा पनि छ। दुई सहकोषाध्यक्ष र तीन सहप्रवक्ता सभापतिले नै चयन गर्ने प्रस्तावित व्यवस्था रहेको नेताहरू बताउँछन्।
बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नाम पनि पदाधिकारीका लागि चर्चामा छ। यज्ञमणि न्यौपाने, निशा डाँगी, लक्ष्मण थारु, रिमा विश्वकर्मा, खगेन्द्र सुनुवारलगायतको नाम सहप्रवक्ता, सहकोषाध्यक्ष वा सचिवालय सदस्यका रूपमा चर्चामा आएको छ।
बालेन पक्षबाट सुनिल लम्साल, सस्मित पोखरेल, सुदन गुरुङलगायतलाई सचिवालयमा समेट्न सकिने देखिएको छ। सभापतिले मनोनीत गर्ने सचिवालय सदस्यमा रञ्जु दर्शना र आशिका तामाङलगायत नेतृहरूको नाम पनि चर्चामा छ।
पार्टी सहमहामन्त्री विपिन आचार्यले विभिन्न समूह र दलबाट आएका नेताहरूलाई समेट्नुपर्ने भएकाले सकेसम्म सहमतिको प्रयास हुने बताए। उनका अनुसार जटिल र सहमति नजुटेका विषयमा निर्वाचन हुन सक्छ।
महाधिवेशन भरतपुरको गेस्टहाउस चौरमा हुने छ। घामपानीबाट जोगाउन जर्मन प्रविधिको ह्याङ्गरभित्र उद्घाटन कार्यक्रम गर्ने तयारी गरिएको छ। बन्द सत्र भने भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा हुनेछ।
आयोजकका अनुसार महाधिवेशनस्थलमा पाँच हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिनेछ। कुर्सीबाहेक पनि बस्न मिल्ने पण्डाल निर्माण गरिनेछ। महाधिवेशनमा दुई हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिका लागि खाना र खाजाको व्यवस्था पार्टीले गर्नेछ। होटलमा बस्ने खर्च भने प्रतिनिधिले आफैँ तिर्नुपर्नेछ। आयोजक समितिले महाधिवेशन प्रतिनिधिका लागि एक हजार छ सयभन्दा बढी होटल कोठासँग सम्पर्क गरिसकेको जनाएको छ।
रास्वपाले महाधिवेशनमा निर्वाचन प्रक्रिया विद्युतीय मतदानमार्फत गर्ने तयारी गरेको छ।





