५ असार २०८३, शुक्रबार

रवि लामिछानेविरुद्ध संगठित अपराधको अभियोग फिर्ता

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता भएको छ।

काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिन अनुमति दिएसँगै उनीमाथि अब सहकारी ठगीको मुद्दा मात्रै विचाराधीन रहने भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिन अनुमति दिएको जनाइएको छ।

तर लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ।

अदालतले अभियोग संशोधनको अनुमति दिँदा पीडितको न्याय र क्षतिपूर्तिको अधिकारलाई मुख्य आधार मानेको बताइएको छ। संगठित अपराधजस्तो कठोर र लामो फौजदारी प्रक्रियाले पीडितको क्षतिपूर्ति तथा मिलापत्र प्रक्रियामा बाधा पुर्‍याउन सक्ने अदालतको ठहर रहेको छ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता वा संशोधन भइसकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button