५ असार २०८३, शुक्रबार

रास्वपा महाधिवेशन नजिकिँदै, चितवनमा होटल भरिन थाले

नारायणगढ — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नजिकिँदै गर्दा चितवनको भरतपुरमा चहलपहल बढेको छ।

यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु गरेका छन्।

रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ। चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उनले बताए।

महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ। सामाजिक सञ्जालमार्फत सहभागीहरूलाई पिउने पानी, छाता तथा हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ।

बोहराका अनुसार महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। त्यसबाहेक पार्टीका शुभेच्छुक तथा कार्यकर्ताहरू पनि ठूलो संख्यामा उपस्थित हुने अपेक्षा गरिएको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमले विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी रहेको बताए। उनका अनुसार चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सुलभ दररेट कायम गरिएको छ।

गौतमले सहभागीहरूले आफ्नो रुचिअनुसार होटल बुकिङ गरिरहेको जानकारी दिए। महाधिवेशनस्थलमै खानाको व्यवस्था गरिनेछ भने आवास खर्च प्रतिनिधिहरूले आफैँ व्यहोर्नुपर्नेछ।

उनका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकमध्ये करिब ८० प्रतिशतले होटल बुकिङ गरिसकेका छन्। महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान गरिएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकलाई लक्षित गर्दै चितवनका होटलहरूले विशेष छुटको व्यवस्था गरेका छन्। होटल व्यवसायी संघ चितवन र क्षेत्रीय होटल संघ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने भएका छन्।

भरतपुरमा गर्मीको मौसम रहेकाले महाधिवेशनस्थलमा घामपानीबाट जोगाउन जर्मन ह्याङ्गर प्रयोग गरिएको छ। भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताका लागि ३० हजार वर्गफिटको जर्मन ह्याङ्गर जडान गरिएको हो।

मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बीचमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको छानो भएको ह्याङ्गर जडान गरिएको छ। दुवैतर्फ २० फिट लम्बाइ र ३० फिट चौडाइका एक–एकवटा ह्याङ्गर पनि जडान गरिएको छ।

यी संरचनाहरू बीचमा २४ फिट र छेउछेउमा १४ फिट अग्ला छन्। भट्टराईका अनुसार उक्त संरचनामा करिब १५ हजार जना अट्नेछन्।

अन्य खाली ठाउँमा प्यागोडा शैलीका क्यानोपी टेन्ट राखिनेछ। जर्मन ह्याङ्गरभित्र महिला, ज्येष्ठ नागरिक र असहायका लागि करिब दुई हजार कुर्सी राखिनेछ भने बाँकी सहभागीका लागि चौरमा बस्ने व्यवस्था गरिनेछ।

कार्यक्रमस्थलमा चारवटा एलईडी स्क्रिन पनि जडान गरिनेछ। भट्टराईका अनुसार जर्मन ह्याङ्गर अस्थायी तर बलियो टेन्ट संरचना हो। यो एल्युमिनियम संरचना र टेनसाइल फेब्रिकको छानोबाट बनाइने भएकाले घाम, पानी र हावाहुरीबाट जोगिन सहयोगी हुन्छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा करिब ३० हजार सहभागी हुने अनुमान गरिएको छ। उद्घाटनका दिन आउनेहरूका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनलमा पार्किङ गरिनेछ। अन्य क्षेत्रबाट आउने सवारीसाधनलाई वीरेन्द्र बहुमुखी क्याम्पसको बाइपास सडकतर्फको चौरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button