६ असार २०८३, शनिबार

सिंहदरबारमा तीन घण्टा: जर्मन राजदूतको बन्धकजस्तो अनुभव

काठमाडौं — नेपालका लागि जर्मन राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आफू तीन घण्टासम्म बन्धकजस्तै रहेको भनी प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सार्वजनिक धारणामा उनले दूतावासले यस विषयमा कुनै सञ्चारमाध्यमसँग संवाद नगरेको स्पष्ट पारेका छन्।

“नेपालका सञ्चारमाध्यमहरूले हालै म प्रधानमन्त्री कार्यालय गएकोबारे विभिन्न तरिका र स्वरूपमा समाचार प्रकाशित गरेका छन्,” राजदूत भोल्जले लेखेका छन्, “म यो स्पष्ट पार्न चाहन्छु कि यसबारे मैले व्यक्तिगत रूपमा र जर्मन दूतावासले कुनै पनि पत्रकारहरूसँग कुनै संवाद गरेका छैनन्। यससम्बन्धमा कुनै पनि प्रकाशन गृहलाई हामीले केही भनेका पनि छैनौं।”

सोमबारको घटनाबारे राजदूत भोल्जले कुनै थप विवरण नदिए पनि, जर्मन कम्पनी संलग्न रहेको पासपोर्ट खरिद प्रकरणमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि उनी सिंहदरबार पुगेको बुझिएको छ। त्यस क्रममा सचिवालयका कर्मचारीले उनीमाथि अपमानजनक व्यवहार गरेको समाचार बाहिरिएका थिए।

यसैबीच, उक्त घटनाप्रति नेपालस्थित युरोपेली सङ्घ (ईयु) का राजदूतहरूले अनौपचारिक छलफल गरेको समाचार समेत सार्वजनिक भएका छन्। तर राजदूत भोल्जले आफ्नो वक्तव्यमा ती विषयमा कुनै पुष्टि वा खण्डन गरेका छैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button