६ असार २०८३, शनिबार

तनहुँ जलविद्युत आयोजना: प्रभावित क्षेत्रमा सात योजना निर्माणाधीन, हालसम्म ९६ सम्पन्न

तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत सात योजना निर्माण गरिरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार वैशाख महिनामा मात्र दुई योजना सम्पन्न भएका छन्।

सम्पन्न योजनाअन्तर्गत म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका–१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार कार्य सम्पन्न भएको भण्डारीले जानकारी दिए। योसँगै आयोजनामार्फत हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भइसकेका छन्।

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे। ती योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकमार्फत नियमित अनुगमन भइरहेको छ।

हाल निर्माणाधीन योजनाहरूमा ऋषिङ–७ को माछदाङ टुनीबोट ट्रेल पुल पहुँच सडक, भिमाद–५ को फेदीखोला मोटरेबल पुल, ऋषिङ–७ को डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ र म्याग्दे जोड्ने सेती नदीमाथि चार झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति, भिमाद–५ को वानटाङ खोला पक्की पुल, म्याग्दे–५ फूलबारीस्थित सामुदायिक भवन पर्खाल, र ऋषिङ–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण रहेका छन्।

आयोजना निर्माणमा समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कार्यलाई प्राथमिकता दिइएको भण्डारीले बताए। “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौं,” उनले भने।

यसैबीच, आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत हेडवक्र्स संरचना, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण, र प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button