६ असार २०८३, शनिबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह शनिबार, २,१९३ विद्यार्थी दीक्षित हुँदै

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिबार हुने आफ्नो पाँचौं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३ विद्यार्थी दीक्षित हुन योग्य भएका छन्।

दीक्षित हुनेमा स्नातक तहका १,८३६, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि तहका ३० जना उच्चस्तरीय प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्।

कृषि सङ्कायतर्फ कृषि स्नातकमा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ जना दीक्षित हुँदैछन्। पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा ९७, स्नातकोत्तरमा ५१ र विद्यावारिधिमा २३ जना योग्य भएका छन्। सोही सङ्कायको मत्स्य विज्ञानतर्फ स्नातकमा ६, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना रहेको रजिष्ट्रार सिंहले जानकारी दिए।

यसैगरी, हेटौंडास्थित वन विज्ञान सङ्कायतर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३४८, स्नातकोत्तरमा ३० र विद्यावारिधितर्फ ३ जना दीक्षित हुन योग्य छन्।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ। यस अवधिमा विश्वविद्यालयले हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।

रजिष्ट्रार सिंहले मुलुकका लागि आवश्यक उच्चस्तरीय प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पुर्याउँदै आएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button