बाजुराको गुम्बा गाउँका स्थानीयको जग्गा प्रमाण हुम्ला मालपोतमा भेटियो, सीमा विवाद टुंग्याउन सहयोग पुग्ने अपेक्षा

बाजुरा/हुम्ला — बाजुरा र हुम्ला जिल्लाका स्थानीयबीच सीमा विवाद जारी रहेका बेला बाजुराको हिमाली गाउँपालिका–३ स्थित गुम्बा गाउँका बासिन्दाको जग्गासम्बन्धी पुराना प्रमाण हुम्ला जिल्लाको मालपोत कार्यालयमा भेटिएको छ।
हुम्लाका जनप्रतिनिधिसहितको टोलीले प्रमाण खोज्ने क्रममा मालपोत कार्यालय हुम्लाको ढड्डामा उक्त कागजात फेला पारेको हो। कार्यालय प्रमुख पविन्द्र यादवका अनुसार तत्कालीन मैला गाउँ पञ्चायतको वडा नम्बर ५ को ठेगाना उल्लेख भएको हालको गुम्बा गाउँका १० घरधुरीको जग्गासम्बन्धी पुराना प्रमाण भेटिएका छन्। ती प्रमाणमा सात नम्बर फारम, मोठ र मोहीको लगत विवरण रहेको छ।
प्राप्त प्रमाणअनुसार उक्त गाउँ तत्कालीन मैला पञ्चायतअन्तर्गत पर्ने देखिएको छ। जग्गा धनीका रूपमा नर्वु गुरुङ, डबल्या गुरुङ, छिरिङ थकाली, टसी गुरुङ, फुर्वु गुरुङ (जसका नाति हाल हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमागारा गुरुङ हुन्), याङ्वेला गुरुङ, धर्मसिंह गुरुङ, तुण्डुप गुरुङ र निखु गुरुङको नाम उल्लेख छ।
सात नम्बर फारममा हालको विवादित क्षेत्र कवाडीदेखि चिन्दु, लाम्पाटा, च्याचौर, गुम्वा र फुल सैनालगायतका स्थानको नामसमेत अभिलेख भएको पाइएको छ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दुई जिल्लाका स्थानीयबीच विवाद गर्नुभन्दा आवश्यक तथ्य, प्रमाण र भोगचलनका आधारमा सीमा विवाद टुंग्याउनुपर्ने बताए। यससम्बन्धी प्रमाण सरकारद्वारा गठित सीमा विवाद अध्ययन समितिलाई पनि उपलब्ध गराइने उनको भनाइ छ।
यता गुम्बा गाउँवासीले भने २०५० सालमा भएको नापीको नक्सा देखाउने गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए। सात नम्बर फारमबिनै नापी भएको उक्त नक्साबारे पनि आवश्यक अध्ययन र जाँचबुझका लागि हुम्लावासी सम्बन्धित निकायमा जाने उनको भनाइ छ।
दुवै पक्षले अब दुई जिल्लाबीच द्वन्द्व र विवाद नगरी समन्वय, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन्।





