६ असार २०८३, शनिबार

रास्वपा केन्द्रीय समितिमा एक तिहाइ मनोनीत गर्ने अधिकार सभापति लामिछानेलाई

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १५१ सदस्यीय केन्द्रीय समितिमा सभापति रवि लामिछानेले एक तिहाइ अर्थात् ५१ जना सदस्य मनोनीत गर्न पाउने भएका छन्।

चैत ७ गतेदेखि चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनबाट पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। जसमध्ये ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापति लामिछानेलाई रहनेछ।

स्रोतका अनुसार यस व्यवस्थामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको समेत समर्थन रहेको छ। यससँगै पार्टीमा लामिछाने थप शक्तिशाली बन्ने देखिएको छ। लामिछानेलाई सभापतिमा दोहोर्याउन बालेनलगायत पार्टीका शक्ति केन्द्रहरू सहमत भएको स्रोतको भनाइ छ।

यसैबीच, काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएसँगै लामिछाने थप शक्तिशाली बनेका छन्। उनीविरुद्ध अब अदालतमा सहकारी ठगीको मुद्दा मात्र बाँकी छ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब २५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुनेछन्। प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको छ। साथै, ३८ भन्दा बढी देशबाट १७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button