ब्राजिलको पहिलो जित : हाइटीमाथि ३–० को सानदार नतिजा, कुन्हाको दुई गोल

फिलाडेल्फिया — पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ को खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो।
ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे। कुन्हाले खेलको २३औं र ३६औं मिनेटमा गोल गरेका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल थपे। विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो। यसअघि मोरक्कोविरुद्धको खेलमा पनि उनले एक गोल गरेका थिए।
यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्षस्थानमा उक्लिएको छ। नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनेको छ।
यसअघि पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो।





