६ असार २०८३, शनिबार

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान हुने, विदेशका प्रतिनिधिलाई एपमार्फत मतदानको सुविधा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र तस्बिर छोएर मतदान गर्न सक्नेछन्।

पहिलो चरणको मतदानका लागि करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन गरिने केसीले जानकारी दिए।

केसीका अनुसार असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरी सोही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी छ। पहिलो चरणको निर्वाचन रातिसम्ममा सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते हुने उनको भनाइ छ। दोस्रो चरणमा पदाधिकारीका लागि मात्र निर्वाचन हुनेछ।

महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान छ। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ। विदेशका १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेले एपमार्फत मतदान गर्नेछन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित ११ सदस्य रहेका छन्। आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भए पनि मतदान भने गर्न पाउने व्यवस्था छ। तर प्रमुख केसीले भने आफूहरूले मतदान नगरी तटस्थ रूपमा निर्वाचन सम्पन्न गराउने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button