मनसुनको आंशिक प्रभाव : कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी

काठमाडौं — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको र अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागको मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने र मधेस प्रदेशमा आंशिक बादल लाग्ने अनुमान छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई भूभागका केही स्थान र मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका एकदुई स्थान र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।





