७ असार २०८३, आईतवार

रास्वपा महाधिवेशनमा सभापति उम्मेदवारको शुल्क ५१ हजार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता, शुल्क र आवश्यक कागजातसम्बन्धी सूचना सार्वजनिक गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक प्रतिनिधिले तोकिएको शुल्क, प्रस्तावक, समर्थक र आवश्यक कागजातसहित मनोनयन दर्ता गर्नुपर्नेछ।

सूचनाअनुसार पार्टी सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। सभापति पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पेश गर्नुपर्नेछ।

त्यस्तै, पार्टी पदाधिकारी पदका लागि उम्मेदवारी शुल्क ४१ हजार रुपैयाँ निर्धारण गरिएको छ। पदाधिकारीका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको समर्थन पेश गर्नुपर्नेछ।

केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस पदका उम्मेदवारका लागि पनि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक पार्टी सदस्य हुनुपर्नेछ। साथै, उनीहरूको नाम महाधिवेशन प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

उम्मेदवारी दर्ताका लागि भरिएको मनोनयन पत्र, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासनात्मक कारबाही नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा महाधिवेशनको उम्मेदवारी प्रक्रिया निर्धारित मापदण्डअनुसार पूरा गर्न सबै प्रतिनिधिलाई आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button