७ असार २०८३, आईतवार

गढवाका किशोरीमा रक्तअल्पता उच्च

दाङ । दाङको गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत अधिकांश किशोरीमा रक्तअल्पता देखिएको छ।

किशोरीहरूको स्वास्थ्य अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको रक्तअल्पता परीक्षण कार्यक्रमका क्रममा यस्तो अवस्था देखिएको हो। गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

पहिलो चरणमा गढवा गाउँपालिकाका तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गरिएको थियो। जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलका किशोरीमा गरिएको परीक्षणमा ५३७ जनामा रक्तअल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिए।

परीक्षण गरिएको संख्याका आधारमा करिब ७२ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। यो तथ्याङ्कले किशोरीहरूको पोषण, स्वास्थ्य सचेतना र नियमित परीक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले किशोरीहरूको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

चौधरीका अनुसार यही असार ८ गते गढवा गाउँपालिका–३ का थप तीन विद्यालयका किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्यकर्मीहरूले किशोरीमा देखिएको उच्च रक्तअल्पतालाई पोषण र जनस्वास्थ्यसँग जोडिएको गम्भीर संकेतका रूपमा लिएका छन्। उनीहरूका अनुसार विद्यालय तहबाटै स्वास्थ्य परीक्षण, पोषण शिक्षा र अभिभावक सचेतना बढाउन सके रक्तअल्पता न्यूनीकरणमा सहयोग पुग्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button