पोखरा बसपार्क क्षेत्रमा ३२० सटर हटाइयो

कास्की । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रभित्र बनेका ३२० सटरसहितका संरचना हटाएको छ। बसपार्क निर्माणका लागि छुट्याइएको जग्गामा बनेको बास्तोला कम्प्लेक्स शनिबार डोजर प्रयोग गरी हटाइएको हो।
महानगरपालिकाका अनुसार बसपार्क निर्माण अभियानअन्तर्गत सेती नदीपट्टिको क्षेत्रमा रहेका संरचना हटाइएको हो। महानगर र जग्गाधनीबीच भएको सहमतिपछि कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीले सटर खाली गरेका थिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्स सञ्चालक तथा व्यवसायीसँग निरन्तर छलफल र संवादपछि संरचना खाली गर्ने सहमति भएको बताए। उनले बसपार्क निर्माणमा सहयोग गर्ने समझदारीसहित कम्प्लेक्स पूर्ण रूपमा हटाइएको जानकारी दिए।
महानगर प्रमुख आचार्यका अनुसार सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्थापन नगरी हटाइने छैन। उनले वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढिरहेको बताए। महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्वारमा रहेका सटर हटाउन सुरु गरेको थियो।
बास्तोला कम्प्लेक्स रहेको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको महानगरले जनाएको छ। विसं २०३० मा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित क्षेत्रभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
महानगरपालिकाले जग्गा सट्टाभर्ना र स्वामित्वसम्बन्धी विषयमा छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। सो समितिको प्रतिवेदन अझै पेस भइसकेको छैन। प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको विषयमा पनि छानबिन तीव्र रूपमा भइरहेको र केही दिनभित्र वास्तविकता सार्वजनिक गरिने बताए।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कका लागि आवश्यक सम्पूर्ण जग्गा खाली गरिने बताए। उनका अनुसार बसपार्क क्षेत्र अतिक्रमण गरी बसेका वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरेपछि मात्रै उक्त क्षेत्रमा थप कारबाही अघि बढाइनेछ।
महानगरले सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको जनाएको छ। बाँकी परिवारको विवरण परीक्षण पनि छिट्टै पूरा गरिने महानगरको भनाइ छ।
महानगर प्रमुख आचार्यले केही परिवारले तीनपुस्ते विवरण पूरा नदिएको र केहीले गलत विवरण दिएको पाइएकाले छानबिनमा समय लागेको बताए। उनका अनुसार बसपार्क निर्माणका लागि जग्गा खाली गर्ने काम कानुनी प्रक्रिया, सहमति र वैकल्पिक व्यवस्थापनलाई ध्यानमा राखेर अघि बढाइनेछ।





