७ असार २०८३, आईतवार

कोशीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौँ । देशका केही भू–भागमा आज वर्षा, चट्याङ र तातो लहरको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।

हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव, सडक अवरोध र नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहरको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तापक्रम बढ्न सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मुख्यतया मौसम सफा रहनेछ।

राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाले भारी वर्षा, चट्याङ र तातो लहरको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन पनि अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button