अन्तर्राष्ट्रिय योग दिवस : नेपालमा दोहोरो परम्परा, योगको पुनर्जागरण

काठमाडौँ, – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा यो दिवस मनाउन थालिएको हो।
यसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेपछि भएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए। यस प्रस्तावलाई युरोपियन युनियन र संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रहरूले पनि समर्थन गरेका थिए। उल्लेखनीय कुरा के छ भने, सङ्घले घोषणा गरेका दिवसहरूमध्ये सबैभन्दा धेरै १७७ देशले समर्थन गरेको कीर्तिमान यस योग दिवसले कायम गरेको छ।
यद्यपि, नेपालको योग परम्पराको आफ्नै इतिहास छ। वैदिक कालदेखि हिमालयको काखमा ऋषिमुनिहरूले योग र ध्यानको अध्ययन तथा अनुसन्धान गरे पनि यो विधि नेपालमै लुप्तप्रायः बनेको थियो। नेपालमा विसं २०३६ देखि डा. हरिप्रसाद पोखरेल को सक्रियतामा मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई योग दिवसको रूपमा मनाउन थालिएको थियो। पछि नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
हाल नेपालमा माघ १ मा राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस गरी दुई पटक योग दिवस मनाइन्छ। पछिल्लो समय यसले योगको प्रचारप्रसारमा सहयोग पुगेको छ। आधुनिक युगमा योगको महत्त्व बढ्दै गएको छ। युरोप र अमेरिकामा योग उपचार र मानसिक शान्तिका लागि व्यापक रूपमा प्रयोग हुन थालेपछि विश्वभर योगको आकर्षण बढेको हो।
नेपालमा योगको पुनर्जागरण र व्यापक प्रचारका लागि डा. पोखरेलले ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको’ धारणा राख्दै योगलाई सर्वव्यापी बनाउनुपर्ने अभियान सञ्चालन गर्दै आएका छन्।
यसैबीच, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान ७ बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा हुने यस कार्यक्रममा योगासन प्रदर्शन र योगको महत्त्वबारे जानकारी दिइने छ। मुख्यसचिवको विशेष उपस्थितिमा हुने कार्यक्रममा ‘जीवनका लागि योग’ सन्देशलाई जोड दिइने जनाइएको छ।





