रास्वपा महाधिवेशनलाई गगन थापाको शुभकामना

काठमाडौँ । नेता गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गरेको उल्लेख गरेका छन्। उनले सभापति लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन्।
थापाले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई विचार, संगठन र नीतिका दृष्टिले पार्टीलाई थप परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने ऐतिहासिक अवसरका रूपमा अर्थ्याएका छन्।
उनले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणका लागि पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
थापाले लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना पनि गरेका छन्।





