७ असार २०८३, आईतवार

रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। सातै प्रदेश, प्रवास सम्पर्क विभाग, समायोजन, मनोनयन र पार्टीका विभिन्न संरचनाबाट प्रतिनिधि छनोट गरिएको हो।

पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधिका रूपमा छनोट गरिएको छ।

प्रदेशगत रूपमा कोशीबाट ३६४, मधेशबाट ६३०, बागमतीबाट ७९४, गण्डकीबाट ४५४, लुम्बिनीबाट ६२१, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि हुनेछन्।

यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुनेछन्।

गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित उम्मेदवार, समानुपातिक सूचीमा रहेका व्यक्ति तथा पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना, नेतृत्व चयन र भावी राजनीतिक दिशाका हिसाबले महत्त्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button