रास्वपा महाधिवेशनमा पूर्वदलका नेताहरूको सक्रियता सामाजिक सञ्जालमा

राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि सुरु हुने प्रथम महाधिवेशनमा सहभागी हुन लागेका नेता तथा प्रतिनिधिहरूले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। विशेषगरी यसअघि अन्य राजनीतिक दलमा सक्रिय रहेका र पछिल्लो समय रास्वपाको घण्टी चिन्हसँग नजिकिएका व्यक्तिहरूले महाधिवेशनमा सहभागी हुने वा उम्मेदवारी दिने संकेतसहित तस्बिर तथा धारणा सार्वजनिक गरिरहेका छन्।
यसक्रममा डा. द्वारिका उप्रेती र डा. सीता ढुंगाना प्रतिनिधि पात्रका रूपमा देखिएका छन्। वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुख रहेका उप्रेती हालैको अध्यादेशपछि पदबाट हटाइएका थिए। उनी यसअघि एमालेमा सक्रिय रहेका, पछि एकीकृत समाजवादीतर्फ लागेका व्यक्तिका रूपमा चिनिन्छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीमा उनी कहिले माधव नेपालसँग दशैंको टीका लगाउँदै, त कहिले एमाले महासचिव शंकर पोखरेलको हातबाट खादा ग्रहण गर्दै देखिएका छन्।
उप्रेती एमाले बारा–काठमाडौं सम्पर्क मञ्चका आजीवन सदस्य तथा सल्लाहकारसमेत रहेका थिए। त्यस्तै, धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाले पनि रास्वपा महाधिवेशनमा सहभागी हुन लागेको जनाउँदै तस्बिर सार्वजनिक गरेकी छन्। उनी पनि पहिले एमालेमा सक्रिय थिइन्। एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएकी ढुंगाना पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा पनि सक्रिय रहेको बताइन्छ।
यसरी रास्वपाको प्रथम महाधिवेशन सुरु हुनुअघि नै विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सक्रियताले पार्टीभित्रको नयाँ शक्ति–सन्तुलन, नेतृत्व प्रतिस्पर्धा र वैचारिक स्पष्टताबारे बहस सुरु गराएको छ।





