निम्तो नपाए पनि मुकुल ढकालले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीको प्रथम महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। आजदेखि चितवनको भरतपुरमा सुरु हुन लागेको महाधिवेशनका लागि उनले सामाजिक सञ्जालमार्फत सन्देश दिएका हुन्।
ढकालले आज पार्टीको पाँचौं स्थापना दिवस र चौथो वार्षिक उत्सवका साथै प्रथम ऐतिहासिक महाधिवेशन सुरु हुन लागेको उल्लेख गरेका छन्। “ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौं,” उनले भनेका छन्।
पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकता जुटाउनसमेत संघर्ष गर्नुपरेको अवस्थाबाट छोटो समयमै दुई तिहाइ जनमतसहित सरकारमा पुग्न सफल भएको स्मरण गर्दै ढकालले ती संघर्षका दिनहरू प्रत्यक्ष बाँचेकाहरूको मानसपटलमा सधैं जीवन्त रहने बताएका छन्।
तर, पार्टी स्थापनाकर्ता आफू महाधिवेशनको निम्तो सूचीमा समेत नपरेकोप्रति उनले व्यङ्ग्य गरेका छन्। “विडम्बना, पार्टीलाई ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ,” उनले भनेका छन्।
यद्यपि, आफ्नो भौतिक उपस्थितिभन्दा विचार, मूल्य र सिद्धान्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै ढकालले भनेका छन्, “आज महत्त्वपूर्ण कुरा म उपस्थित छु कि छैन भन्ने होइन। महत्त्वपूर्ण कुरा महाधिवेशनले के निर्णय गर्छ भन्ने हो।”
उनले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित नहुने आशा व्यक्त गर्दै प्रतिनिधिहरूलाई आग्रह गरेका छन्, “व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस्।” उनले ‘राजव्यक्ति’ नभई ‘राजनीति’ गर्न पनि आग्रह गरेका छन्।
“महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गरोस्,” ढकालले शुभकामना सन्देशमा भनेका छन्।





