सत्य र न्यायको पक्षमा दृढ उभिन रास्वपालाई बाबुराम भट्टराईको सुझाव

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन्।
चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली राजनीतिक इतिहासको नयाँ क्रान्तिको एउटा कडीका रूपमा आफूले लिएको बताए।
उनले मुलुकमा सुशासन र समृद्धि हासिल गर्न रास्वपाले स्पष्ट दृष्टिकोण, नैतिक साहस र जनउत्तरदायी राजनीतिक अभ्यासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
भट्टराईले आफ्नो पुस्ताका केही नेताहरूले रास्वपाको उदयलाई लिएर भ्रमपूर्ण टिप्पणी गर्ने गरेको उल्लेख गर्दै आफूले भने यसलाई नयाँ प्रकारको राजनीतिक परिवर्तनको अभिव्यक्तिका रूपमा हेरेको बताए।
उनले आफू लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको पक्षमा पैरवी गर्दै आएको स्मरण गराउँदै रास्वपालाई त्यसै प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए।





