संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट प्रतिबद्धता देखाउन रास्वपालाई वर्षमान पुनको आग्रह

नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन्।
आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपाप्रति देशभर विशेष चासो र अपेक्षा रहेको बताए।
उनले महाधिवेशनबाट चयन हुने नेतृत्व, तय हुने विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले रास्वपाको महाधिवेशन विशेष महत्वको भएको उल्लेख गरे।
“विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिंगो देशले हेरिरहेको छ,” पुनले भने, “महाधिवेशनबाट तपाईंहरूले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई प्रभाव पार्दछ।”
पुनले आफ्नो पार्टी नेकपा र रास्वपाबीच समानता र भिन्नता दुवै रहेको बताए। उनले दुई दलबीच केही विषयमा नीतिगत, व्यवहारगत र शैलीगत फरक रहेको उल्लेख गरे।
“तपाईं र हामीबीच केही भिन्नता छन्। ती केही आशंकाको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन्,” पुनले भने, “हामीलाई तपाईंहरूको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूबाट अझ उच्च तहको प्रतिबद्धता आओस् भन्ने चाहन्छौँ।”
उनले संविधान, लोकतन्त्र र स्थापित प्रणालीप्रति रास्वपामाथि उठेका प्रश्न, आरोप र आशंकालाई हटाउन पार्टीले स्पष्ट राजनीतिक प्रतिबद्धता देखाउनुपर्ने सुझाव दिए।
कार्यक्रममा पुनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै उनको शुभकामना सन्देश पनि सुनाएका थिए।




