रास्वपा हाम्रो दुश्मन होइन, प्रमुख प्रतिस्पर्धी हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो पार्टीको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुतापूर्ण सम्बन्ध नरहेको बताए।
उनले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमतप्रति आफूलाई लोभ लागेको उल्लेख गर्दै कांग्रेसलाई रास्वपाभन्दा अग्लो राजनीतिक शक्तिका रूपमा उभ्याउने दाबी गरे। उनले अरूलाई कमजोर बनाएर नभई इमानदार काम र जनविश्वासका आधारमा कांग्रेसले राजनीतिक उचाइ हासिल गर्न चाहेको बताए।
थापाले संसद्मा प्रतिस्पर्धी दलका रूपमा कांग्रेसले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने स्पष्ट पारे।
“हामी तपाईंहरूको दुश्मन होइनौँ। हामी संसद्मा प्रतिस्पर्धी छौँ,” थापाले भने, “जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो, त्यहाँ औँला ठड्याउँछौँ। जहाँ थपडी बजाउनुपर्ने हो, त्यहाँ थपडी बजाउँछौँ।”
उनले लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा स्वाभाविक भएको भन्दै दलहरूबीच स्वस्थ राजनीतिक संस्कार आवश्यक रहेको धारणा पनि राखे।





