७ असार २०८३, आईतवार

लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने प्रवृत्ति दोहोरिए जनमत टिक्दैन : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन्।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले गलत निर्णयबाट उत्पन्न हुने दबाब थेग्न कठिन हुने बताए। उनले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र सन्तुलित विदेश नीतिको संरक्षणमा सरकार विशेष रूपमा सजग रहनुपर्नेमा जोड दिए।

ज्ञवालीले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै ती प्रश्नको स्पष्ट जवाफ महाधिवेशनमार्फत दिन रास्वपालाई आग्रह गरे।

उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित हुने भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद् र आलोचनात्मक आवाजहरूलाई कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने बताए।

उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाले निर्वाचनका बेला गरेको प्रतिबद्धता र लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको टिप्पणी गरे।

उनले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाप्रतिको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरे। ज्ञवालीले जनमत क्षणिक लोकप्रियतामा नभई संस्थागत जिम्मेवारी, परिपक्व निर्णय र राष्ट्रिय हितप्रतिको प्रतिबद्धतामा टिक्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button