संविधान संशोधनमार्फत थप समावेशी र न्यायपूर्ण व्यवस्था बनाउनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि, विरोधाभास र अपूर्णता सच्याउँदै संशोधनमार्फत यसलाई थप समावेशी, न्यायपूर्ण र समृद्धिमुखी बनाउनुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताए।
उनले संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती उपलब्धिहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।
यादवले संविधानभित्रै केही विरोधाभास र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति, क्षेत्र र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन अपरिहार्य रहेको बताए।
उनले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसंगति हटाउँदै देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए। समावेशी लोकतन्त्रको सुदृढीकरणमा रास्वपाले पनि सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
यादवले रास्वपालाई मुलुकलाई समृद्धि, सुशासन र न्यायपूर्ण व्यवस्थाको दिशामा अघि बढाउन सफलता मिलोस् भन्दै शुभकामना पनि दिए।





