७ असार २०८३, आईतवार

अख्तियारसँग पाँच घण्टा होइन, पाँच वर्ष सल्लाह गर्न तयार छौँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले पासपोर्ट खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सरकार नियम र कानुनभित्र रहेर आवश्यक परामर्श गर्न तयार रहेको बताएका छन्।

आइतबार चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले अख्तियारसँग पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म पनि सल्लाह गर्न सरकार तयार रहेको बताए।

“अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्रै होइन, पाँच वर्ष गर्छौँ,” शाहले भने, “पाँच वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिनु पर्दैन।”

उनले आफ्नो सरकार र पार्टीले नियम कानुन नमिच्ने दाबी गरे। शाहले बाहिरबाट सरकारको गतिविधि अनियन्त्रित देखिए पनि सबै कुरा नियन्त्रणमै रहेको बताए।

“हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ,” उनले भने, “हाउभाउ हेर्दा सामाजिक सञ्जाल र मिडियामा अलिकति अनियन्त्रित देखिएला, तर त्यो देखिएको मात्रै हो। सबै कुरा नियन्त्रणमा छ, कुनै कुरा आउट अफ कन्ट्रोल गएको छैन।”

प्रधानमन्त्री शाहले सरकार पुराना कुरामा प्रतिशोध साध्न नलागेको तर सरकारी सम्पत्ति र रकमको दुरुपयोग भएको ठाउँमा प्रश्न उठाउने बताए। उनले सुशासन, सुकुम्बासी समस्या र सहकारी समस्यालाई यही कार्यकालमा समाधान गर्ने दाबी पनि गरे।

सीमा विवादबारे उठेका प्रश्नको जवाफ दिँदै शाहले नेपालको राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरे। उनले कालापानी, लिपुलेकबारे नेपालसँग प्रमाण रहेको र आवश्यक परे ऐतिहासिक अभिलेख पनि ल्याइने बताए।

“हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ,” शाहले भने, “त्यो प्रमाण लिन पहिले ब्रिटिस शासनकालका कागजात ल्याउनुपर्छ भने ल्याउँछौँ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। छिमेकीसँग आफैँ कुरा गरेर मिलाउँछौँ।”

रास्वपाको महाधिवेशनबारे बोल्दै शाहले पार्टीलाई आन्दोलन र भावनाबाट संस्थागत संरचनामा रूपान्तरण गर्ने समय आएको बताए। उनले रास्वपा लेफ्ट, राइट वा सेन्टरभन्दा पनि विकासवादी पार्टी भएको दाबी गरे।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई गुट र उपगुटको राजनीति नगर्न आग्रह गरे। राम्रो नेता बन्न कुनै समूहको समर्थनभन्दा जनताको आस्था र विश्वास जित्नुपर्ने उनको भनाइ थियो।

“राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन,” शाहले भने, “गुट उपगुटको बीउ अहिले नै नरोपौँ, भोलि त्यही रुख बनेर पार्टीलाई चिर्न सक्छ।”

प्रधानमन्त्री शाहले रास्वपा एकल पार्टीको सरकार भएकाले पार्टीका प्रत्येक कार्यकर्ता, सांसद, पदाधिकारी र शुभेच्छुकलाई सरकारसँग जोडिएको अनुभूति हुनुपर्ने बताए। उनले महाधिवेशनपछि पार्टीले पाँच वर्ष देश निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

“आज, भोलि, पर्सि पार्टीको बारेमा सोचौँ,” उनले भने, “त्यसपछि पाँच वर्ष देशको बारेमा सोचौँ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button