रास्वपाको मतमा राजसंस्था चाहनेहरूको मत पनि छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतमा राजसंस्था चाहने मतदाताको मत पनि समावेश रहेको बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लिङ्देनले यसपटक राप्रपालाई मत दिने कतिपय मतदाताले पनि रास्वपालाई मत दिएको दाबी गरे। उनले राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको भावनालाई पनि रास्वपाले विचार गर्नुपर्ने बताए।
“रास्वपाले पाएको मतमा राजा ल्याउनुपर्छ भन्नेहरूको मत पनि छ,” लिङ्देनले भने, “प्रधानमन्त्री बालेनप्रति विश्वास छ।”
लिङ्देनले रास्वपाले ऐतिहासिक जिम्मेवारी र अवसर प्राप्त गरेको भन्दै त्यसको सदुपयोग गर्न सुझाव दिए। उनले निषेधको राजनीति नगरी सहमतिको बाटोबाट देशलाई अघि बढाउनुपर्नेमा जोड दिए।
“एउटा ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर तपाईंहरूले प्राप्त गर्नुभएको छ। यो अवसरको सदुपयोग होस्,” उनले भने, “हिजो अरूले निषेध गरे, हिजो अरूले ठिक लगाए, त्यसकारण हामी पनि त्यही बाटोमा जानुपर्छ भन्ने सोच राखियो भने जनताले फेरि निराश हुनुपर्छ।”
उनले देशलाई निषेधको राजनीतिबाट नभई सहमतिको राजनीतिबाट अघि बढाउनुपर्ने बताए।
लिङ्देनले राप्रपा सदैव सकारात्मक प्रतिपक्षको भूमिकामा रहने बताए। उनले रास्वपाका राम्रा काममा साथ दिने र गलत काम भए खबरदारी गर्ने स्पष्ट पारे।
“तपाईंहरूका राम्रा कामहरूमा सदैव साथ दिन्छौँ, शुभेच्छुकका रूपमा रहन्छौँ,” लिङ्देनले भने, “तर गलत कुरा भए हामी खबरदारी गर्छौँ, आवश्यक परे औँला पनि ठड्याउँछौँ।”





