सुधार गृह पठाउने तयारीकै क्रममा विराटनगरमा चक्कु प्रहार, दुई प्रहरीसहित तीन घाइते

विराटनगरमा सुधार गृह पठाउने तयारी भइरहेका एक व्यक्तिले चक्कु प्रहार गर्दा दुई प्रहरीसहित तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१ मा आइतबार २९ वर्षीय रुविन कार्कीले चक्कु प्रहार गर्दा विराटनगर भट्टा चोकस्थित सिआरभीका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका हुन्।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते तीनै जनाको टाउकोमा सामान्य चोट लागेको छ। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार लागुपदार्थको लतमा फसेका कार्कीलाई परिवारका सदस्यले सुधारका लागि काठमाडौं पठाउने तयारी गरेका थिए। त्यसका लागि काठमाडौंबाट साथीभाइ नेपाल सुधार गृहका प्रतिनिधि समेत उनलाई सम्झाउन घर पुगेका थिए।
तर, कार्कीले कोठा बन्द गरी आफैँलाई हानि पुर्याउने जोखिम देखिएपछि सिआरभीको टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीय र परिवारका सदस्यले सम्झाउने क्रममा उनले खाटमा लुकाइराखेको चक्कु निकालेर प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनापछि थप प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न कार्कीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
रामेछाप घर भएका कार्कीको परिवार पछिल्लो समय विराटनगरस्थित मोहन भट्टराईको घरमा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ।





