७ असार २०८३, आईतवार

रास्वपाले बालेनको खुट्टामा बल पुर्‍याइसकेको छ, अब गोल हान्ने जिम्मा उहाँको हो : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावअघि नै पार्टीले बालेन्द्र शाह ‘बालेन’को खुट्टामा बल पुर्‍याइसकेको र अब भटाभट गोल हान्ने जिम्मा बालेनकै भएको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले बालेनलाई प्रधानमन्त्री बनाएको भन्दै अब काम गरेर देखाउने जिम्मा बालेनको काँधमा रहेको बताए।

उनले सरकार सञ्चालनको निगरानी रास्वपाले गरिरहेको उल्लेख गर्दै चुनावअघि बालेनसँग गरिएका सहमति क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।

“हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर जुन सहमति गरेका छौँ, त्यो सहमतिको पालना एक–एक गरेर गर्ने म यहाँ उभिएर प्रण गर्न चाहन्छु। यो हाम्रो निजी कुरा होइन। इतिहासलाई जवाफ दिनुपर्नेछ। व्यक्तिको कुरा ठूलो कुरा होइन,” लामिछानेले भने।

उनले थपे, “त्यसकारण सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो। उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ।”

लामिछानेले झुक्किएर बल अन्यत्र पुगे पनि फेरि बालेनकै खुट्टामा पास गर्ने जिम्मा आफूले लिने बताए।

“झुक्किएर कहीँ आएछ भने पनि फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button