वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा सात जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, सुनसरीकै ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरूले ग्रिस, क्रोएसिया, सर्विया, युके, युएई र अजरबैजान पठाइदिने प्रलोभन देखाएर रकम लिएको आरोप छ।
प्रहरीका अनुसार सन्तोष अधिकारीले ग्रिस पठाइदिने भन्दै १० लाख रुपैयाँ, हेमन्त केसीले क्रोएसिया पठाइदिने भन्दै १३ लाख ३० हजार रुपैयाँ, सुकदेव राईले सर्विया पठाइदिने भन्दै १३ लाख रुपैयाँ, मनिष पोदारले युके पठाइदिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोप छ।
त्यस्तै, रामरतन मिश्रले युएई पठाइदिने भन्दै दुई लाख ३० हजार रुपैयाँ, अमृत अधिकारीले अजरबैजान पठाइदिने भन्दै तीन लाख ५० हजार रुपैयाँ र मिर इसलामानाले युके पठाइदिने भन्दै १२ लाख ६३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता थापा क्षेत्रीले जानकारी दिए।





