८ असार २०८३, सोमबार

सङ्खुवासभामा पहिरोले तीन परिवार विस्थापित, खेतीयोग्य जमिन पुरियो

सङ्खुवासभा — अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माको चार सदस्यीय परिवार र शान्तिराम पोखरेलको चार सदस्यीय परिवार विस्थापित भएको छ। पहिरोले विश्वकर्माको दुईतले घरको पछाडितिरको भाग भत्काएको छ भने पोखरेलको घर पनि जोखिममा परेको छ।

यस्तै, पहिरोकै जोखिमका कारण खाँदबारी नगरपालिका–६ खानीडाँडामा यारबहादुर तामाङको छ सदस्यीय परिवार पनि विस्थापित भएको राजवंशीले बताए। पुनः पहिरो जान सक्ने र दुवै घरमा थप क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। विस्थापित परिवार अहिले छिमेकीको शरणमा बसेका छन्।

पहिरोका कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन समेत पुरिएको छ। स्थानीय राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी भएको खेत पहिरोले कटान तथा पुरेको प्रहरीले जनाएको छ। धुपु प्रहरी चौकीबाट खटिएको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button