८ असार २०८३, सोमबार

केप भर्डेको सनसनी : उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी

मियामी — विश्वकप फुटबलमा समूह ‘एच’ मा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको केप भर्डेले मियामीमा भएको रोमाञ्चक खेलमा दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ। पहिलो विश्वकप यात्रालाई अझ यादगार बनाउँदै केप भर्डेले नकआउट पुग्ने सम्भावना पनि जीवितै राखेको छ।

पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेर समर्थकलाई उत्साहित बनाएको केप भर्डेले उरुग्वेविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्यो। खेलको २१औं मिनेटमा केभिन पिनाले प्रहार गरेको लामो दूरीको फ्रिकिक डिफेन्सको पर्खालको बीचबाट छिर्दै गोलमा परिणत भएपछि केप भर्डेले अग्रता लियो।

तर उरुग्वेले खेलमा फर्कन धेरै समय लिएन। ४४औं मिनेटमा डिफेन्डर सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बलमा म्याक्सी अराउजोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोब्बियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा उरुग्वेले निरन्तर दबाब बनाइरहँदा केप भर्डेलाई बल नियन्त्रण गर्न कठिन भइरहेको थियो। तर ६१औं मिनेटमा माथियास ओलिभेराले आफ्नै पेनाल्टी क्षेत्रमा बल पास गर्न खोज्दा भएको गल्तीको फाइदा उठाउँदै हेलिया भारेलाले गोलकिपरलाई छलाएर खाली पोस्टमा सहज गोल गरे र खेल २–२ को बराबरीमा ल्याए।

खेलको अन्त्यतिर उरुग्वेका फेडेरिको भाल्भेर्देले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन। इन्जुरी समयमा दुवै टोलीले थप अवसर बनाए पनि निर्णायक तेस्रो गोल हुन सकेन।

यस बराबरीसँगै समूह ‘एच’ मा स्पेन ४ अंकसहित शीर्षस्थानमा छ। उरुग्वे र केप भर्डेको समान २–२ अंक छ भने साउदी अरेबियाको १ अंक छ। अन्तिम खेलमा साउदीलाई हराए केप भर्डे नकआउट चरणमा पुग्नेछ भने उरुग्वेलाई स्पेनलाई हराउनुपर्ने दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button