८ असार २०८३, सोमबार

कञ्चनपुरमा वडाध्यक्षमाथि हातपातको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

महेन्द्रनगरस्थित एक होटलमा सञ्चालन भइरहेको कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएको र सोही क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नै कुँवरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

अर्कोतर्फ, पक्राउ परेकी पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत वडाध्यक्ष देवकोटाले नै आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। उनी नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button