लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दशौं बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

बुटवल — लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दशौं बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन्। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन्।
त्यसैगरी, बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेशको आर्थिक गतिविधि र विकास योजनासँग सम्बन्धित यी महत्वपूर्ण एजेन्डाहरूमा सदस्यहरूको व्यापक छलफल हुने अपेक्षा गरिएको छ। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको दिशानिर्देश गर्ने विश्वास गरिएको छ।





