८ असार २०८३, सोमबार

नेपाल एफएटिएफको ग्रे लिस्टबाट बाहिरिन असफल, भारतीय पत्रिकाले भन्यो ‘बालेन सरकारलाई ठूलो धक्का’

काठमाडौं — भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणले नेपाललाई वित्तीय कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स वा एफएटिएफ) को ग्रे लिस्टमै राखिएको विषयलाई ‘बालेन सरकारमाथि ठूलो धक्का’ का रूपमा प्रस्तुत गरेको छ।

‘एफएटिएफको ग्रे लिस्टमा रहनेछ नेपाल, बालेन सरकारलाई ठूलो धक्का, ब्ल्याक लिस्टको खतरा मडारियो’ शीर्षकमा प्रकाशित समाचारमा नेपालले सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी सुधारका काममा अपेक्षित प्रगति गर्न नसकेकाले ग्रे लिस्टबाट बाहिरिन नसकेको उल्लेख छ।

एफएटिएफको क्षेत्रीय निकाय एसिया प्यासिफिक ग्रुप (एपीजी) ले यसअघि नै आवश्यक सुधार नगरे नेपाल ‘ब्ल्याक लिस्ट’ मा पर्न सक्ने चेतावनी दिएको थियो। एपीजीको पछिल्लो मूल्याङ्कन प्रतिवेदनमा नेपालले १५ बुँदे कार्ययोजनामध्ये ९ वटामा मात्र उल्लेखनीय प्रगति गरेको र ६ वटा क्षेत्रमा आंशिक सुधार भएको जनाइएको छ।

एफएटिएफले नेपाललाई आफ्नो कार्ययोजना कार्यान्वयन जारी राख्दै मनी लाउन्ड्रिङ अनुसन्धान क्षमतामा सुधार ल्याउन तथा अवैध वित्तीय कारोबार नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। नेपालले यी कमजोरी सुधार गर्न नसके भविष्यमा ब्ल्याक लिस्टमा पर्ने जोखिम कायम रहने चेतावनी पनि दिइएको छ।

नवभारत टाइम्सले उक्त अवस्थालाई बालेन्द्र शाह नेतृत्वको सरकारका लागि चुनौतीका रूपमा चित्रण गर्दै वित्तीय अपराध नियन्त्रण र सम्पत्ति शुद्धीकरणविरुद्धका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने दबाब बढेको कोणबाट विश्लेषण गरेको छ।

गत मे महिनामा एपीजीको दुई सदस्यीय टोली काठमाडौं आएर अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल प्रहरीलगायत विभिन्न निकायका उच्च अधिकारीसँग छलफल गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button