दृष्टिविहीन व्यवसायीहरूको बालेन सरकारविरुद्ध प्रदर्शन : ‘रोजगारी गरेर खान नदिएको’ आरोप

काठमाडौं — दृष्टिविहीन व्यवसायीहरूले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले रोजगारी गरेर खान नदिएको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले सडकपेटी, मठमन्दिर, चोकलगायतका सार्वजनिक स्थानमा बसेर धूप, बत्ती, वेट मेसिन (नाम लिने यन्त्र) बेच्ने, गीत गाएर सहयोग उठाउने लगायतका स्वरोजगारमूलक कार्य गर्दै आएकोमा नगरप्रहरीले धरपकड, होल्डिङ सेन्टरमा दिनभर थुन्ने र साँझपख मात्र छाड्ने गरेको भन्दै आक्रोश जनाएका हुन्।
प्रदर्शनकारीहरूको समूह ‘सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरू’ का संयोजक सुदीप ओलीले भने, “बालेन सरकारले हामीलाई बाँच्न दिएन। गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन।” उनले नगरप्रहरीले दृष्टिविहीन महिलाहरूमाथि समेत हातपात गर्ने गरेको गुनासो गर्दै राज्यले रोजगारीको व्यवस्था गर्ने वा महिनाको २० हजार रुपैयाँ बेरोजगार भत्ता दिनुपर्ने माग राखे।
उनीहरूले सरकारले आफूहरूलाई बाँच्नका लागि वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। साथै, दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्तासहितको रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन्।
यसैबीच, प्रदर्शनकारीहरूको मागप्रति सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ, तर सरकारी वा नगरप्रहरीबाट कुनै तत्काल प्रतिक्रिया भने आएको छैन।





